म्हेन्दोमाया खोज्दै प्रवासबाट

मेन्दोमायाका गयक लेक
कान्तिपुर-धादिङको सेम्जोङ चौतारा गाउँमा उनी 'म्हेन्दोमाया' सुन्दै हुर्किए । रसुवा, नुवाकोट र धादिङतिरको तामाङ समुदायमा प्रचलित यो लोकगीत बिस्तारै लोप हँुदै गएकोप्रति उनलाई चिन्ता थियो र काठमाडौं छिरेर रेडियो नेपालमा पहिलोपटक उनैले गाए ।
नेपाल टेलिभिजनमा छायांकन पनि गराए । यो झन्डै दुई दशक अघिको कुरा हो । यतिबेला भने पहिलो मेन्दोमाया गायक लेक योन्जन काठमाडौं आइपुगेका छन्, अठार वर्षको दुबई बसाइपछि । मनमा तिनै भावना छ, 'म्हेन्दोमाया' लयलाई खोजी गर्दै बाहिर ल्याउने ।

'म्हेन्दोमाया रसुवा, धादिङ र नुवाकोटमा निकै प्रचलित लोकगीत हो,' नयाँ एल्वमबारे योजना बनाइरहेका लेकले भने, 'तर तामाङ समुदायमा सेलोको बर्चस्व भएकाले यो जबर्जस्त ओझेलमा पर्‍यो ।' उनको भनाईमा 'सेलो' मात्रै तामाङ लोकसंगीत हो भन्ने भावनाले गर्दा पनि म्हेन्दोमाया ओझेलमा परेको हो । पचासको दशकमै धादिङका युवाहरूले म्हेन्दोमाया समाज नामक संस्था बनाएर एल्बम निकालेका थिए, जसमा लेककै गीत पनि थियो । यही समूहबाट अघि बढेकी योगिता मोक्तानले सेलोसँगै लोक आधुनिक र नेपाली फिल्मी गीतमा पहिचान बनाइसकेकी छन्् ।

'अहिले ती साथीहरू सबै कताकता छरिएछन्,' कामका लागि दुबई पुगेपछि उतै हराएका लेकले भने, 'केही साथीहरूसँग भेटेर कुरा गरेको छु नयाँ योजनाबारे ।' पुराना संस्थालाई फेरि ब्युँझाएर लोकगीत अनुसन्धान र स्थलगत रेकर्ड गरेर बाहिर ल्याउन सके म्हेन्दोमायाले बजार लिनसक्ने उनको सोच

रहेछ । 'प्रेम संवाद गर्दा, मृत्यु हुँदा र पूजाआजा गर्दा फरकफरक लय र सन्दर्भका गीत गाइन्छ,' उनले भने, 'गीतमै इतिहासका कथा र मिथहरू भन्ने चलन छ ।' उनका अनुसार यो लोकनृत्य पनि हो । युवायुवती लस्करै कम्मर पछाडिबाट हात बाँधेर उभिन्छन् र खुट्टाको एकतमास चालमा गीत गाउँदै नाच्छन्, प्रेम संवाद गर्छन् । 'दोहोरी शैलीको गीत हो,' उनले भने, 'युवायुवतीबीच सवाल-जवाफ चलिरहन्छ ।'

कामका लागि दुबई बन्दरगाह पुगेका लेक अहिले वायरहाउस इन्चार्ज छन् । महिनैपिच्छे प्रवासीबीच साहित्यिक, सांस्कृतिक जमघट भइरहन्छन्, लेक त्यता पनि उत्तिकै सामेल हुन्छन् । 'आफ्नो मौलिक संस्कृति र माटोको महत्त्व मुलुकबाहिर पुगेपछि मात्र महुसुस हुँदोरहेछ,' नेपाल साहित्य परिषद्, पत्रकार महासंघ यूएई लगायत आधादर्जन प्रवासी संघ-संस्था संस्थापकसमेत रहेका लेकले भने, 'रेडियो नेपालमा गाउँदागाउँदै प्रवास नपसेको भए यता भिन्न पहिचान बनिसक्थ्यो कि ?'
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।