ल्हास्सो, फ्याफुल्ला, टशिदेले!
तमाङ जाती नेपालको विभिन्न आदिवासी जनजाती मध्ये एक हो। यो आँफैँमा ऐतिहांसिक, साँस्कृतिक भाषिक एवं भौगोलिक रुपले सम्पन्न जाती हो। नेपाल आमाको आदी पुत्र तामाङहरु ईतिहासमा आफ्नै किपट भुमी भएको एक सबल र सक्षम, साँस्कृतिक र धार्मिक रुपमा गौरवशाली जातिको रुपमा रहिआएको पाउँछौ। नेपालको राजाधानी लगायत यसको वरीपरिका क्षेत्रहरुमा आ-आफ्नो किपटहरुमा तामाङहरु शुरुदेखी नै बसिआएको पाईन्छ। काठमान्डु उपत्यकाको पहिलो बासिन्दा तमाङ थियो भन्ने तथ्यहरु ईतिहासमा भेटिन्छ। तर ईतिहासको पानाहरु पल्टिंदै जाने क्रममा यो जातिले झन्ण्डै-झण्डै आफ्नो अस्तित्वसम्म गुमाउन लागेको स्थितिसम्म पुगेको पाईन्छ। अनेक कालखण्डहरुमा तामाङहरुको सोझो एवम इमान्दारिताको फाईदा उठाइ, अनेक जालझेलका मध्यम द्धारा हामीलाई मूलधारबाट पाखा लगाएको पाईन्छ। हामीलाई आफ्नो राज्य, धर्म, भाषा र संस्कृतिमाथिको अधिकारबाट समेत वन्चित गर्यो। यसरी युगौँसम्म कालकोठरिमा दासी जीवन बिताउन विवश हामी तामाङहरुले अन्याय र अत्याचार विरुद्धा नलडेको भने होइन तर हामीलाई कहिल्यै सफल हुन दिएन। अनेक चक्रव्युहहरु रच्दै आए र हामी फस्दै आयौँ त्यसमा। र आजको २१औँ शताब्दिको यो विज्ञान र प्रविधिको युगमा पनि हामी आदिम कालिन जीवन जिउन वाध्य छौँ। हाम्रो मुक्तिका निम्ती हाम्रा आखे-म्हेम्हेहरुले लड्दै आए र आज पनि हामी मुक्ती लडाईंकै क्रममा छौँ। नेपालमा हुने गरेका हरेक आन्दोलनहरुमा तामाङहरुको उलेख्य र महत्वपूर्ण भूमिका रही आएकोछ। चाहे २००७ मा होस् चाहे २०४६ मा होस्, जनयुद्ध देखी लिएर २०६२/६३ को आन्दोलसम्म तामाङहरुले यो देशमा परिवर्तनको निम्ती ठुलो भूमिका खेल्दै आएकोछ तथापी हामी भने उही अवस्थामा नै छौँ भन्दा केही फरक नपर्ला। हाम्रो मिहेनत र पसिनामाथी जहिले अरुले मोज गर्दै आएकोछ। अहिले पनि तामाङ्हरु मुक्ती आन्दोलनकै क्रममा छ। लोकतन्त्रले स्थापित गरेको मुल्य-मन्यता र हाम्रो अधिकार सुनिश्चित गर्न अझै हामीले लामो संघर्ष गर्नुपर्नेछ।
हामी तामाङ आफ्नै मिहेनतमा रमाउने, आफ्नो जाती, धर्म, सँस्क्रिती र भाषालाई माया गर्ने, स्वाभिमानी र स्वावलम्बी बौद्ध धर्मका अनुयायी, न्यायप्रेमी, सत्यका पक्षधर हौँ। हामीलाई आफ्नो पहिचान प्राणभन्दा प्यारोछ। त्यसैले त हामी त्यही पहिचान प्राप्तिका लागि शदियौँदेखी अनवरत लड्दै आइरहेका छौँ र लडी नै रहनेछौँ हाम्रो पहिचान र हाम्रो अधिकार सुनिश्चित नभएसम्म। हाम्रो आखे-म्हेम्हेहरुको संघर्षका बाबजुद पनि हाम्रो सोझोपनाको फाईदा उठाउंदै हामीलाई कहिले माथि उठ्न दिएन। त्यो हाम्रो कमजोरी भनेको अशिक्षा नै थियो। र आजको यो प्रविधिको जमानामा हामीले हाम्रो पहिचान जोगाइराख्न र आफ्नो आवाज एक-आर्कासँग व्यक्त गर्न धेरै नै माध्यमहरु छन। त्यसमध्य ईन्टरनेट एक शक्तिशाली मध्याम हो। यसको माध्यमद्धारा आज हामी विश्वको कुना-कुनामा रहेर पनि एक ठाउँमा छौँ। र यसको सदुपयोग हामीले पनि गर्न जान्नु पर्दछ र हाम्रो पहिचानको खोजी र अधिकारको कुराहरु प्राप्त गर्न यसलाई पनि मध्यम बनाउनु पर्दछ। साथै हामीलाई आफ्नो पना, भाषा-धर्म, संस्क्रिती प्रती माया दिलाउने र एक ठाउँको भाषा र संस्क्रिती अर्को ठाउँमा पुर्याउने चिनाउने र समग्रमा सम्पूर्ण तामाङको एकता र आपसी माया बाँड्ने डाजाङको रुपमा बिकास गर्ने उद्देश्य सहित यो ब्लग निर्माण गरिएको हो। "तामाङ जातिको एकता र पहिचानमा समर्पित" नारा बोकेको यो ब्लग हामी सम्पूर्ण तामाङहरुको माया एवं सदभाव र सहयोगले मात्र यो पूर्णता तिर लम्किनेछ। त्यसैले तपाईं हाम्रै यो साझा डाजाङमा सबै मिली आपसमा भावनाहरु, विचारहरु, मायाहरु साटौं र वास्तवमै यसले लिएको लक्ष्य विन्दुमा पुर्याऔँ। थुजेछे।
-ह्याङ तामाङ (तामाङ जातिको एकता र पहिचानमा समर्पित)
16/May/2010