आदिवासी फिल्म महोत्सव

काठमाडौ, अषाढ १४ - मेक्सिकन सरकारको जलविद्युत् परियोजनाबाट मारमा नपर्न नदी किनारमा पुस्तौंदेखि रहेका आदिवासीहरूले अस्तित्व रक्षाका लागि गरेको सफल संघर्ष चित्रित डकुमेन्ट्रीले यसपटकको नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा बाजी मारेको छ ।
'एन्ड द रिभर्स फ्लोज अन' ले गोल्डेन ड्रम हात पार्‍यो । दोस्रो र तेस्रो पनि विदेशी नै रहे । 'नागा स्टोरी : द अदर साइड अफ साइलेन्स' (भारत) ले सिल्भर र 'यारङ रुट' (भारत) ले ब्रोन्ज ड्रम प्राप्त गरे । 'नागा स्टोरी...' ले भारतको उत्तर-पूर्वी सिमानामा स्वतन्त्र राज्य माग गर्दै आधा शताब्दीदेखि
संघर्षरत आदिवासी नागा जातिको विस्तृत चित्र देखाएको छ । तेस्रो फिल्मले भने बाँध निर्माणले उठीबास लागेको आदिवासी बस्तीको मार्मिक कथा प्रस्तुत गरेको छ ।
फिल्मकर्मी युवराज लामाको संयोजकत्वको निर्णायक मण्डलीले स्पेसल मेन्सन अवार्डका लागि चार नेपाली मातृभाषी कथानक फिल्महरू 'सालीज्यू' -मगर), 'पहिचानको खोजीमा धिमाल' (धिमाल), 'पोङ' (तामाङ) र 'संै' (गुरुङ) लाई चुन्यो । दर्शक छनोट आधार रहेको पब्लिक च्वाइस अवार्ड भने लिम्बूभाषी फिल्म 'फुङवामा' ले पायो ।
इन्डिजिनस फिल्म अर्काइभले शुक्रबारदेखि थालेको महोत्सवमा विजेता स्वदेशी फिल्मको अवार्ड फिल्मकै निर्देशकले हस्तान्तरण गरेका थिए । विदेशी फिल्म/डकुमेन्ट्रीका निर्देशक अनुपस्थित महोत्सवमा विजेता फिल्मको अवार्ड भने आयोजकले नै थापिदियो ।
विषयगत र प्राविधिक पक्षमा आधारित रही मूल्यांकन गरिएको बताइएको प्रतियोगितात्मक महोत्सवमा निर्णायक संयोजक लामाले आदिवासीका एजेन्डा स्थापित गर्न सघाउ पुर्‍याउने राजनीतिक महत्त्व बोकेका फिल्मले प्राथमिकता पाएको उल्लेख गरे । उनले विदेशी फिल्मले आदिवासी मुद्दालाई सही ढंगले स्थापित गरेको उल्लेख गर्दै भने, 'नेपाली प्रतिस्पर्धी फिल्मले समग्रमा विषय राम्रै उठाएको भए पनि प्राविधिक पक्षमा ती कमजोर थिए ।'
उनले भाषा र वेशभूषा मात्रै भएर जातीय फिल्म हुन नसक्ने बरु भारतीय र नेपाली मूलधारका फिल्मबाट प्रभावित नभई पृथक् सोचसाथ वैकल्पिक माध्यमबाट जान सुझाव दिए । महोत्सवमा सहभागी नेपाली आदिवासी फिल्मले निर्णायकलाई सन्तुष्ट पार्न नसकेको छनक त्यसकी सदस्य शोभा चन्दले पनि दिइन् । 'यसपालि नेपालमा -उत्कृष्ट फिल्मको) खडेरी नै परेको रहेछ,' विजेता घोषणाअघि उनले तीतो पोखिन्, 'प्रस्तुतिमा व्यापक कमजोरी छ ।'
स्वाभाविक प्रावधानबिना जोर संख्यामा रहेका चार सदस्यीय निर्णायकमण्डलले महोत्सवमा सहभागी १२ देशका १९ विदेशी र १४ स्वदेशी मातृभाषीसहित ३३ फिल्म/डकुमेन्ट्रीको मूल्यांकन गरेको थियो । यसअघि अनुभव अजितसमेतको पाँच सदस्यीय निर्णायकमण्डल रहने बताइए पनि उनको अनुपस्थितिका कारणबारे औपचारिक जानकारी दिइएन । निर्णायकमा पत्रकार अशोक प्यासी राई र समाजशास्त्री डा. कृष्ण भट्टचनसमेत थिए ।
विदेशी फिल्ममा अंग्रेजी उपशीर्षक भए पनि स्वदेशी नौ मातृभाषी फिल्म सबैमा उपशीर्षक थिएन । यसले निर्णायकलाई समेत भाषागत समस्या आउने देखिएको थियो भने नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृह दुवैमा एकसाथ फिल्महरू देखाइँदा जुधेका फिल्मको निर्णय के-कसरी गरिएको थियो भन्नेबारे खुलाइएन ।
समापनको अन्तिम शोका रूपमा आयोजक संस्थाकै अध्यक्षसमेत रहेका निर्देशक नवीन सुब्बा र छिरिङ रितार शेर्पाको संयुक्त निर्देशन रहेको नृत्यनाटिका डाँफे चरी' देखाइयो । पौने घन्टा लामो नाटिकाका गीत तथा संगीत ३७ वर्षअघि संगीतज्ञ गोपाल योञ्जनले रेकर्ड गराएका रहेछन् । पोखरेली लोकगायक झलकमान गन्धर्वको गीतबाट प्रभावित भई तयार पारिएको उक्त गीतमा निर्देशकद्वयले डाँफे चरीमार्फत हिमाल-तराई साइनो देखाएर एकता सन्देश दिन खोजेका छन् ।
आयोजकका अनुसार महोत्सवको विस्तारित दोस्रो चरण मुलुकका नौ सहरमा केही समयपछि हुनेछ ।

स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।