कान्तिपुर-काठमाडौ, अषाढ १३ - दोस्रो जनआन्दोलनपछि देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको छ । नयाँ संविधानले आफ्ना दमित आवाजलाई सम्बोधन गर्ने मीठो आशामा आदिवासी/जनजाति छन् ।
छिमेकी भारतमा ५० वर्षदेखि एक जातिले छुट्टै राज्य माग गर्दै संघर्ष गरिरहेका छन् । त्यही संघर्ष उतारिएको डकुमेन्ट्री 'नागा स्टोरी ः द अदर साइड अफ साइलेन्स' हेरेपछि शनिबार सभागृहको सिटी हलमा दर्शक स्तब्ध बने ।
'आन्दोलन गर्नु त त्यस्तो पो । हामी यहाँ त खाली कुर्सीका लागि मात्रै लड्छौं,' सन् २००४ मा नेदरल्यान्डस हिमालयन फिल्म महोत्सवमा 'स्पिरिट अफ द हिमालयज' अवार्ड विजेता उक्त वृत्तचित्र हेरिसकेर बाहिरिएका एकले भने, 'देशका लागि र आफ्नो भूमिका लागि लड्ने यहाँ कोही छैन ।'
इन्डिजिनस फिल्म आर्काइभद्वारा सञ्चालित नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवको दोस्रो दिन गोपाल मेनन निर्देशित उक्त वृत्तचित्रले धेरैको ध्यान तान्यो ।
भ्ाारतको उत्तर-पूर्वी सिमानामा बसोबास गर्ने ३० लाख आदिवासी नागा समुदायको स्वतन्त्रताका लागि गरेको आधा शताब्दी लामो स्वन्त्रताको लडाइँलाई ६४ मिनेटको वृत्तचित्रमा कैद गर्न मेननलाई पाँच वर्षजति लागेको थियो । सन् २००३ मा बनेको उक्त डकुमेन्ट्रीले नागा समुदायमाथि सेनाले गरेका यातना उजागार गरेको छ ।
शनिबारै रुसका आन्द्रेस भोइग्ट निर्देशित 'लेस नोमाडस डु सर्कल पोलाइर', अस्टे्रलियाली निर्देशकद्वय बन्टली डिन र मार्टिन बटलरको 'कन्ट्याक्ट', स्विडेनका काइने बोम्याननिर्देशित 'द अन्ली इमेज अफ माई फादर'लगायत वृत्तचित्र प्रतिस्पर्धामा भिडिरहँदा स्वदेशी मातृभाषाका कथानक फिल्महरू देखाइए ।
ब्यासी सौका, तामाङ, गुरुङ र नेवारी जातिका मातृभाषी कथानक फिल्मले बिदाको दिन महोत्सव हेर्न आएका दर्शकलाई अपेक्षित सन्तुष्टि दिन नसकेको गुनासो पनि सुनियो । कुनैमा उपशीर्षक नआउनु त कुनैका दृश्यमा गडबडीले हैरान पारेका थियो ।
महोत्सवमा लिम्बू भाषाको फिल्म 'फुङवामा' ले नेपालको दसवर्षे द्वन्द्वले जनतालाई परेको पीडा देखाइरहँदा गुरुङभाषाको 'सैं' ले गुरुङ जातिमा विद्यमान लाहुरेप्रथाले कसरी सामाजिक विग्रह निम्त्याउँछ भन्ने विषयलाई उठाएको छ ।
(प्रदर्शनिमा प्राङ्बोला म्हाङ, जा थेबा, थारेङ थारेङ गरी जम्मा तीन वटा तामाङ चलचित्र प्रदर्शनीमा राखिएको छ।)
