सेलोमा छाएका-प्रेम लोप्चन

कला क्षेत्रमा लाग्नेको सबैको एउटै उद्देश्य हुन्छ, नाम अनि दाम दुवै कमाउँ । छिट्टै नाम-दाम कमाउने धुनमा कतिपयले अगतिलो बाटो पनि रोज्ने गरेका उदाहरण प्रशस्तै छन् । तर, सिल्धुपाल्चोक भुवाका प्रेम लोप्चनलाई त्यस्तो मोह कहिल्यै लागेन रे ! 'म न त कहिल्यै नामको पछि लागेँ, न त दामको,' तीन दशकदेखि कलाकारितामा निरन्तर लागिरहेका उनी भन्छन्, 'राम्रो काम गरे नाम त्यत्तिकै चलिहाल्छ । नामसँगै दाम पनि पछिपछि लागेर आउँछ । म सन्तुष्ट छु ।'
प्रहरी कलाकारका रूपमा ३० वर्ष काम गरेर हालै मात्र प्रहरी नायव निरीक्षकबाट अवकाश पाएका उनी लोकसंस्कृतिका पर्यायजस्तै बनेका छन् । प्रहरी सेवाबाट अवकाश पाए पनि उनको कलाले भने नयाँ रंग पाइरहेको छ । भन्छन्,'कति साथी रिटायर्ड लाइफ आरामले बिताइरहेका छन्, तर म त झन् सक्रिय रूपमा कलाकारितामा लागिरहेको छु । यसमै आनन्द लाग्छ ।' लोकसंस्कृति, भाषाभाषी, जातजातिका गीत-नृत्य खोज्दै मुलुकका अधिकांश जिल्लाका कुनाकन्दरा पुगे, प्रेम । चाहे सोलुखुम्बुको सल्लेरी होस् वा मोरङको धिमाल गाउँ ।
सोरठी खोज्दै तनहुँको भानु गाउँ होस् वा तामाङ कला-संस्कृति खोज्दै सिन्धुपाल्चोक धेरै जिल्ला घुमे उनी । कृष्णचरित्र, सोरठी, मारुणी, च्याबरुङ, चण्डी, चुड्का, घाटु, झोरा, धिमाल, मोसेर, सालदैजो, होप्चा, झाक्रीलगायत थुप्रै  नृत्यमा पोख्त मानिन्छन्, उनी । यी अधिकांश नृत्य आफूले पुलिस क्लबमार्फत गाउँ-गाउँमा पुगी खोजेर ल्याएका मौलिक गीत नृत्य भएको बताउँछन्, उनी ।
गाउँमा हुने विवाह-ब्रतबन्ध अनि चाडपर्वमा नाच्न-गाउन भनेपछि अघि सरिहाल्ने प्रेमको कला देखेर ११-१२ वर्षकै उमेरमा धेरैले भविष्यमा राम्रो कलाकार बन्छ भन्ने भविष्यवाणी गरेका थिए रे ! १३ वर्षकै उमेरमा राजधानी हेर्न आएका उनी यतै प्रहरीको जागिरमा लागे । प्रहरी सेवामा लागेपछि हरेक शुक्रबार प्रहरीको टोलीबीच हुने सांस्कृतिक कार्यक्रममा गीत गाउन र नाच्न उनै अगाडि सर्थे । 'म प्रहरीमा भर्ना भएपछि कहिल्यै पनि त्यस्ता कार्यक्रममा दोस्रो भइनँ । हरेकपटक फस्ट नै भएँ,' उनी विगत सम्झन्छन्, 'गीत गाउनदेखि नाच्ने कलामा हरेकबाट मैले स्याबासी पाउँथेँ ।' गायन-नृत्यमा पोख्त उनले त्यसपछि बन्दुक बोक्ने प्रहरी बन्नुपरेन । नेपाल प्रहरीकै ब्यान्ड गुल्ममा संगीत सिक्ने अवसर पाएपछि उनको कलाकारिताले अझै फराकिलो मैदान पायो । आफ्नो गायन र नृत्य क्षमता देखेर महेन्द्र पुलिस क्लबको सांस्कृतिक शाखामा काम गर्ने मौका पाएको बताउँछन्,प्रेम । त्यहाँबाट उनको कलाकारिताले राम्रै मलजल पायो । गोपाल योन्जनदेखि राजपाल थापा,सानेबहादुर राना,बुद्धि परियारजस्ता अग्रजबाट संगीत र नृत्यको ज्ञान लिने मौका मिल्यो, उनलाई ।
०४२ मा हिमालयन हिस्टोरी नामक गीतिएल्बम स्रोतमाझ ल्याएका उनले त्यसपछि डम्फु फ्रम हिमालय, कोदाको ढिँडो, सेलो जुहारी, सैलुंगे जुहारी, दर्शन भाग १, २, मुक्ति सन्देश, पुरानो दोस्तीलगायतका थुप्रै एल्बम श्रोतामाझ ल्याएका छन् । विशेषगरी तामाङ समुदायका गीत/संगीत र नृत्यमा परिचित आफ्नो प्रतिभा नेपालमा भन्दा पनि विदेशमा विकेको बताउँछन्, उनी । 'खाँट्टी नेपाली कल्चर त नेपालमा भन्दा पनि विदेशमा रहेका नेपालीले खोज्ने गर्छन्,'उनी भन्छन् । त्यसकारण पनि नेपाली बसेका केही मुलुक उनका लागि पानीपँधेरो जस्तै भएको छ । नेपालीको बसोबास रहेको विदेशी भूमिमा टिपिकल नेपाली नृत्य, गायनमा पोख्त कलाकार भन्ने बित्तिकै उनकै नाम अग्रपंक्तिमा आउँछ ।
हङकङ, सिंगापुर, जापान, कतारदेखि विश्वका नेपाली रहेका धेरै मुलुक घुमेका उनी हालै मात्र अमेरिका पुगेर नेपाली कला पस्केर आएको बताउँछन् । नयापत्रिका दैनिकलाई अन्तरवार्ता दिनेक्रम्मा उनी भन्छन 'त्यहाँका नेपालीको आफ्नो संस्कृतिप्रतिको अगाध मोह देखेर छक्क परेँ म ।'प्रहरीबाट अवकाश पाएपछि भने उनी कृष्ण फिल्मसमार्फत आफूले यत्तिका वर्ष आर्जन गरेको नृत्य अनुभव बाँड्नुका साथै पर्दामा उतारिरहेका छन् । अहिलेसम्म उनले पाँच दर्जनको हाराहारीमा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । भन्छन्,'मैले जीवनमा कला-संस्कृतिबाहेक केही सोच्न सकिनँ । यही काम गर्दागर्दै मर्न पाऊँ भन्ने कामना छ ।'


Source: Cellroti.com
स्तम्भ: ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।