काठमाडौ, अषाढ २३ - फुटबल खेल्दाखेल्दै सोमबार च्यासल मैदानमा मृत्यु भएका जिम्मे ग्याल्जेन लामालाई मुटुको समस्या रहेको डाक्टरको पोस्टमार्टम रिपोर्टले बताएको छ ।
लामा अध्ययनरत श्रीमंगल दीप, बौद्धका सहायक प्रधानअध्यापक झविन्दुकुमार सुवेदीले पोस्टमार्टमको रिपोर्ट सोमबार राति १० बजे आएको बताए । पोस्टमार्टमको रिपोर्टमा 'काडियो पल्भोनरी' को समस्याका कारण मृत्यु भएको उल्खेल छ । जुन मुटुको समस्या हो ।
खेल्दाखेल्दै 'अचानक' मैदानमा
लडेपछि उनलाई बीएन्डबी अस्पताल पुर्याइएको थियो । तर डाक्टरले उनलाई मृत घोषणा गरिदिएका थिए । गरिब लामाको परिवारमा बाबु मात्र छन् । उनका बिरामी बाबु गोरखामा बस्छन् । बाबुको उपचार गर्नका लागि स्कुल र अखिल नेपाल फुटबल संघ -एन्फा) मिलेर सहयोग गर्ने सुवेदीले बताए ।
'उनी एकमात्र सन्तान हुन् । उनकी आमा छैनन् । होस्टलमा पढ्दै आएका लामा चित्रकार पनि थिए,' सुवेदीले भने, 'उनलाई सहयोग गर्न एन्फा सकारात्मक छ । स्कुलले पनि उनको बाबुलाई सहयोग गर्छ । हामी उनले बनाएका चित्रलाई बेचेर पनि सहयोग जम्मा गर्नेछौं ।' लामालाई के कति क्षतिपूर्ति दिने भनेर बुधबार एन्फा, स्कुल र कोकाकोलाकप राष्ट्रिय फुटबल प्रतियोगिताको मुख्य प्रायोजक वोटलर्स नेपालबीच बुधबार दिउँसो ३ बजे बैठक बस्नेछ ।
पोस्टमार्टमको रिपोर्ट डाक्टरले पुलिसलाई सुम्पेका छन् । पुलिसमार्फत एन्फालाई पछि पोस्टमार्टमको रिपोर्ट आउने एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए ।
जिम्मे ग्याल्जेन कोकाकोला कपमा सोमबार प्रभात स्कुल काठमाडौंविरुद्धको खेलमा मैदानमा लडेका थिए । उनको निधनका कारण मंगलबारका खेल भएन ।
-कान्तिपुर
-कान्तिपुर