काठमाडौं, असार २१ (नागरिक)- आदर्श जनप्रेमी उच्चमावि कौसलटार, भक्तपुरका छात्र इन्द्र तामाङले ९२ दशमलब ७५ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन्।इन्द्रले मुलुकभरबाट दोस्रो स्थान ल्याएको विद्यालयको दावी छ। यसअघि बुटवलस्थित एभरेस्ट बोर्डिङ स्कुलका विवेक अधिकारीले ९३ दशमलब ३७ प्रतिशत अंक ल्याएको खबर सार्वजनिक भइसकेको छ।
आर्थिक अवस्था कमजोर भएकाले नर्सरीदेखि कक्षा १० सम्म उनलाई निःशुल्क पढ्न व्यवस्था मिलाइएको विद्यालयका प्रिन्सिपल रविप्रसाद आचार्यले बताए। उनले भने, 'विद्यालयले प्रदान गरेको निःशुल्क छात्रवृत्तिलाई उसले (इन्द्र) ले सही सदुपयोग गरेको छ, यसमा खुसी लागेको छ।' कक्षा १२ सम्म इन्द्रलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने विद्यालयले जनाएको छ।
विज्ञान पढेर भविष्यमा डाक्टर बन्ने उनले बताएका छन्। यसका लागि विपन्न परिवारका इन्द्रलाई विद्यालयले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रिन्सिपल आचार्यले भने, 'डाक्टरी पढ्दा लाग्ने सबै खर्च विद्यालयले व्यहोर्ने छ।'
रामेछापको सामान्य परिवारमा जन्मेका तामाङको परिवारको आर्थिक अवस्था कमजोर छ। उनकी आमा कान्छी तामाङ सोही विद्यालयकी आया हुन् भने बाबु नरे तामाङ जीविकोपार्जनका लागि हाँसपालन गर्दै आएका छन्।
२०५१ साल असोज २६ गते रामेछापका डडुवा गाविस-५ मा जन्मिएका इन्द्रले हाँसिल गरेको नतिजाप्रति विद्यालयले खुसी व्यक्त गरेको छ। उनले ८ सय पूर्णांकमा ७ सय ४२ अंक हासिल गरेका थिए। विद्यालयका ६ जना विद्यार्थी विशिष्ट, २५ प्रथम श्रेणी र दुईजना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन्।